काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा बुधबार दोस्रो जित निकाल्यो ।
त्रिपुरेश्वरस्थित दसरथ रंगशालामा न्युरोड टिम एनआरटीलाई ३-१ गोल अन्तरले हराउँदै मनाङले दोस्रो जित निकालेको हो ।
जितपछि मनाङका मुख्य प्रशिक्षक किरण श्रेष्ठ खुशी देखिए । उनले आफ्ना खेलाडीले फुटबलको मज्जा लिदै गएको बताए ।
'तीन अंक पाउँदा खुशी छौँ । यसले टिमलाई अर्को खेलमा खुलेर खेल्न सहयोग गर्छ,' प्रशिक्षक श्रेष्ठले भने, ' लिगमा अझै खेल्न बाँकी छ । खेलाडीले फुटबलको मज्जा लिदै गएका छन् । ट्याक्टिल रुपमा केटाहरु स्ट्रोङ छन् ।'
जितसँगै मनाङले ४ खेलमा ८ अंक जोडेको छ । मनाङ तेस्रो स्थानमा उक्लिएको छ ।
एनआरटीको यो तेस्रो हार हो । एनआरटीले ४ खेलमा १ अंक जोडेको छ । एनआरटी १३ औं स्थानमा रहेको छ ।
एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले टिमको खेल सोचेको जस्तो नभएको र मनाङको ट्याक्टिस ब्रेक गर्न नसकेको बताए ।
'सोचेजस्तो खेल भएन । पाएको मौकालाई सदुपयोग गर्न नसकेर हार्यौं । खेलहरु अझै बाँकी छन् । राम्रो गर्ने प्रयास रहन्छ । हाम्रो टार्गेट सुपर सिक्स हो,' उनले भने, 'मनाङको खेल राम्रो छ । हामीले मनाङको ट्याक्टिस ब्रेक गर्न सकेनौं ।'