काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दसरथ रंगशालामा बुधबार न्युरोड टिम एनआरटीलाई ३-१ गोल अन्तरले हराउँदै मनाङले दोस्रो जित निकालेको हो ।
मनाङको जितमा रोशन राना मगर, सेदजामोल दाभ्लातजोनोभ र कोफी टिमोथी कुडोले एक एक गोल गरे ।
एनआरटीका अशोक थापाले एक गोल फर्काए ।
खेलको ३९ औं मिनेटमा रोशनले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । रन्दिप पौडेलको क्रसमा पेनाल्टी बक्सभित्र रहेका रोशनले बल नियन्त्रणमा लिदै उत्कृष्ट गोल गरे ।
खेलको ६९ औं मिनेटमा उज्वेकिस्तानका विंगर सेदजामोलले पेनाल्टीबाट गोल गर्दै मनाङलाई २-० को अग्रता दिलाए।
एनआरटीका गौरव श्रेष्ठले सेदजामोललाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मनाङले पेनाल्टी पाएको थियो ।
खेलको ८७ औं मिनेटमा कोफीले गोल गर्दै मनाङलाई ३-० को अग्रता दिलाए । उनले एकल प्रयासमा गोल गरेका हुन्।
त्यसपछि खेलको इन्जुरी समयमा एनआरटीका अशोकले गोल गरेपनि मनाङ ३-१ ले विजयी भयो । गौरवको पासमा अशोकले हेडमार्फत गोल गरे ।
त्यसबाहेक दुबै टोलीले पाएको अन्य अवसरलाई गुमाएका थिए ।
खेलको पहिलो मिनेटमा मनाङका भिषण गुरुङले गोलको सुनौलो अवसर खेर फाले । एनआरटीका जिन एनिसेन्टको ब्याक पास नियन्त्रणमा लिएपनि भिषणले वान भर्सेस वानको स्थितिमा बाहिर प्रहार गरे ।
तेस्रो मिनेटमा एनआरटीका लालनुनजामाले १८ यार्डबाट प्रहार गरेको बल पोस्ट माथिबाट बाहिरिएको थियो ।
२१ औं मिनेटमा मनाङका कोफी टिमोथी कुडोको प्रहार पनि पोस्टको केहि माथिबाट बाहिरिएको थियो ।
खेलको ३१ औं मिनेटमा एनआरटीका रोशन खड्कीले गोलको अवसर खेर फाले । कृतिस रत्न छुन्जुले उपलब्ध गराएको पासमा रोशनले वान भर्सेस वानको अवस्थामा सिधै गोलकिपरको हातमा प्रहार गरे ।
५५ औं मिनेटमा एनआरटीका दिपेश आले मगरले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गरेको बल मनाङका गोलकिपर दीप कार्कीले उत्कृष्ट बचाऊ गरे ।
खेलको ६६ औं मिनेटमा सेदजामोलको क्रसमा मनाङका कोफीको हेडर एनआरटीका गोलकिपर पुजन होनाले पन्च गर्दै मुश्किलले जोगाए ।
जितसँगै मनाङले ४ खेलमा ८ अंक जोडेको छ । मनाङ तेस्रो स्थानमा उक्लिएको छ ।
एनआरटीको यो तेस्रो हार हो । एनआरटीले ४ खेलमा १ अंक जोडेको छ ।
एनआरटी १३ औं स्थानमा रहेको छ ।