काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा लगातार चौंथो हार व्यहोरेको छ ।
चौंथो हार व्यहोर्ने क्रममा पुलिसले मंगलबार साविक विजेता मछिन्द्र फुटबल क्लबसँग २-१ ले पराजित भएको हो ।
दशरथ रंगशालामा एक गोलको अग्रता जोगाउन नसक्दा पुलिस पराजित भएको हो ।
लगातारको हारपछि पुलिसका मुख्य प्रशिक्षक चेत कुमार घिमिरेले गोल गरेपनि बल पोसेसन राख्न नसक्दा पराजित भएको बताए ।
'पहिलो हाफमै गोल निकालेका थियौं । जसले टिम बुस्ट अप भएको थियो । अलिकति बल होल्ड गर्न नसक्दा गोल खान पुग्यौं । जसले गर्दा खेलाडीमा कन्फिडेन्स कम भयो । अर्को गोल खान पुग्यौं,' घिमिरेले भने ।
पुलिसले ४ खेलमा अंक जोड्ने सकेको छैन । पुलिस पुछारमा रहेको छ ।
यस्तै घिमिरेले टोलीले दोस्रो हाफमा राम्रो खेल खेलेको बताए । तर, गोल गर्न नसकेको उनले बताए ।
घिमिरेले युवा खेलाडीबीच अझै तालमेल मिलन नसकेको बताए ।
घिमिरेले विदेशी खेलाडी अनुबन्धका लागि म्यानेजमेन्ट टिमसँग कुराकानी भईरहेको बताए । उनले गोलकिपर बाहेक तीनै पोजिसनमा विदेशी खेलाडी अनुबन्ध गरिने बताए ।
मछिन्द्रका सहायक प्रशिक्षक सन्तोष न्यौपानेले जितकै लागि खेलेको र नतिजा आएको बताए । आफिज ओलावाले टिममा आएपछि सजिलो भएको र अझै उपाधिका लागि खेल्ने उनले बताए ।