काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले हराउँदै मछिन्द्रले पहिलो जित निकालेको हो ।
मछिन्द्रको जितमा डेब्यु खेलाडी आफिज ओलावालेले दुई गोल गरे । पुलिसका अन्जन राईले एक गोल गरे ।
मछिन्द्रले एक गोलको अग्रता उल्टाएर पुलिसविरुद्ध जित निकालेको हो ।
खेलको नवौं मिनेटमा अन्जनले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । रबि पासवानको क्रसमा अन्जनले हेडरमार्फत गोल गरे ।
तर, खेलको २० औं मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई १-१ गोलको बराबरीमा ल्याए । अविशेक गुरुङको प्रहार पुलिसका गोलकिपर संजित श्रेष्ठले रोकेपछि आएको रिबाउन्डमा ओलावालेले गोल गरे ।
त्यसपछि खेलको ४० औं मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २-१ को जित दिलाए ।
युता सुजुकीले क्रस गरेको बल नियन्त्रणमा लिदै पुलिसका गोलकिपर संजितलाई बिट गर्दै ओलावालेले गोल गरे । ओलावाले म्यान अफ द म्याच चुनिए ।
त्यसबाहेक दुबै टोलीले पाएको अन्य अवसरलाई सदुपयोग गर्न सकेनन्।
खेलको १७ औं मिनेटमा मछिन्द्रका अविशेक गुरुङको क्रसमा विमल घर्तिमगरको हेडर गोलपोस्टमा लाग्दै बाहिरिएको थियो ।
३० औं मिनेटमा मछिन्द्रका ओमोलाजा करिमको फ्रिकिक पुलिसका गोलकिपर संजितले सहजै आफ्नो नियन्त्रणमा लिए ।
खेलको ४३ औं मिनेटमा मछिन्द्रका अविशेक गुरुङको क्रसमा ओलावालेको हेडर पुलिसका गोलकिपर संजितले मुश्किलले जोगाए ।
खेलको ५५ औं मिनेटमा पुलिसका सन्तोष हेमरुनको पेनाल्टी क्षेत्र भन्दा बाहिरबाटको सशक्त प्रहार पोस्टको केहि माथिबाट बाहिरिएको थियो ।
६९ औं मिनेटमा मछिन्द्रका सौरभ लिम्बुले तीन डिफेन्डरलाई बिट गर्दै प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन ।
खेलको ७१ औं मिनेटमा मछिन्द्रका बिमल घर्तिमगरको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो ।
८५ औं मिनेटमा पुलिसका प्रताब गुरुङको फ्रिकिक बलमा अन्जनले हेड गर्न सकेनन् ।
खेलको ८९ औं मिनेटमा मछिन्द्रका शौरभ लिम्बुको सशक्त प्रहार पुलिसका गोलकिपर संजितले मुश्किलले बचाए ।
यस जितसँगै मछिन्द्रले ४ खेलमा ४ अंक जोडेको छ । मछिन्द्र ११ औं स्थानमा उक्लिएको छ ।
पुछारमा रहेको पुलिसको यो लगातार चौंथो हार हो । पुलिसले ४ खेलमा अंक जोड्ने सकेको छैन ।