काठमाडौं । नेपाल खेलकुद महासंघको सम्बद्ध संस्था राष्ट्रिय जुडो संघ नेपाल र नेपाल जुडो संघको संयुक्त आयोजनामा राष्ट्रिय रेफ्रि सेमिनार तथा परीक्षा–२०७९, नेकोस-तेस्रो भेट्रान्स जुडो प्रतियोगिता–२०७९ र नेकोस-छैटौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता–२०७९ आयोजना हुने भएको छ ।
राष्ट्रिय जुडो संघ नेपालले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो ।
काठमाडौंको खुशिबु नयाँबजारमा चैत १ र २ गते रेफ्रि सेमिनार र ३ र ४ गते प्रतियोगिताको दौरानमा परीक्षा हुनेछ । यस रेफ्रि परीक्षामा उत्तिर्ण हुनेहरूलाई राष्ट्रिय रेफ्रि लाइसेन्स प्रदान गरिने बताईएको छ ।
चैत १ गते ३५ वर्ष भन्दा माथिका भेट्रान्स खेलाडीहरूका लागि नेकोस तेस्रो भेट्रान्स जुडो प्रतियोगिता हुनेछ । यस प्रतियोगितामा विजेता हुनेहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने छ ।
यस्तै चैत ३ र ४ गते हुने नेकोस–छैठौ अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा भुटान र जापानसहित नेपालको विभिन्न जिल्लाहरू बाँके, दाङ्ग, कास्की, मकवानपुर, सोलुखुम्बु, काभ्रे, ललितपुर भक्तपुर, पर्सा तथा काठमाडौं जिल्लाहरु सहित उपत्यकाभित्र रहेका विभिन्न क्लब, डोजो, विद्यालय, कलेज, संघ सस्थासहित जम्मा १९ टिमले सहभागी जनाउने छन् ।
यस प्रतियोगितामा सब–क्याडेट (१५ वर्षभन्दा मुनि), क्याडेट (१५ वर्षदेखि १८ मुनि सम्मका) र जुनियर (१५ वर्षदेखि २१ मुनि सम्मका) गरी तीन तहमा विभाजन गरी खेलाइने छ । साथै खेलाडीहरूको उमेर अंग्रेजी क्यालेण्डर अनुसार मापन गरिएको छ ।
यस प्रतियोगितामा विजेता हुने तीनवटै तहका खेलाडीहरूई पदक तथा प्रमाणपत्र तथा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई ट्रफि र उत्कृष्ट महिला तथा पुरुष १÷१ जना खेलाडीहरूलाई समेत ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।
यस प्रतियोगितामा सहभागि सम्पुर्ण खेलाडीरू, अफिसियल तथा निर्णायकहरूलाई कार्यक्रम अवधिभर खाना, खाजा तथा बसोबासको सम्पुर्ण व्यबस्था समेत गरिएको आयोजकले बताएको छ ।
यस प्रतियोगितामा महिला १०४ र पुरुष १४९ गरी जम्मा २५३ जनाले सहभागिता जनाउने छन् ।