काठमाडौं । थ्री स्टार क्लबले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सोमबार दोस्रो जित निकाल्यो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री स्टारले दोस्रो जित निकाल्ने क्रममा रोयल ब्लु सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्यो ।
तीन चरणसम्म अपराजित सातदोबाटोलाई थ्री स्टारले चौंथो चरणमा पहिलो हार चखाएको हो ।
सातदोबाटोविरुद्ध जित निकालेपछि थ्री स्टारका मुख्य प्रशिक्षक मेघराज केसीले टिम अझै सोचेको जस्तो नबनेको बताए । उनले टिम विस्तारै टिम बन्दै गएको बताए ।
'टिम जसरी तयार गर्यौं । टिम विस्तारै टिम हुँदै गएको छ । सोचेको जस्तो टिम बनेको छैन । आशा छ टिम अझै राम्रो हुनेछ,' उनले भने ।
केसी सातदोबाटोका पूर्व प्रशिक्षक समेत हुन् । अघिल्लो सिजन उनले सातदोबाटो हेरेका थिए ।
केसीले सातदोबाटोविरुद्ध थ्री स्टारले पुरै खेल अवधिभर डोमिनेट गरेको समेत बताए ।
सातदोबाटोका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले लगातारको खेलले खेलाडीले पूर्ण रुपमा आराम गर्न नपाएको कारण हार व्यहोरेको बताए । उनले वर्षाले पनि खेलमा समस्या थपिएको बताए ।
'खेलाडीले पूर्ण आराम पाएन । पानीले पनि गार्हो भयो । सानो गल्तीमा गोल खायौं । हामी स्कोरमा चुकिरहेका छौँ,' उनले भने ।