निजगढ । एपीएफ क्लबले बारामा आयोजना भएको प्रथम कोल्हबी भलिबलको उपाधि जितेको छ ।
कोल्हवी बजारस्थित भलिबल ट्रेनिङ सेन्टरमा सोमबार भएको फाईनलमा नेपाल पुलिस क्लबलाई ३-० को सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।
एपीएफले पुलिसलाई २५-२१,२५-१८ र २५-१५ को सेटमा पराजित गर्यो । उपाधिसँगै एपीएफले २ लाख ५ हजार रुपैंया प्राप्त गर्यो भने उपविजेता पुलिसले १ लाख ५ हजार रुपैंया प्राप्त गर्यो ।
तेस्रो हुने टोलि पाथिभरा भलिबल ट्रेनिङ सेन्टर झापाले ५५ हजार रुपैंया प्राप्त गर्यो । झापाले मधेश प्रदेशलाई पराजित गर्दै तेस्रो बन्न सफल भयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफका टेकराज अवस्थीले १० हजार रुपैंया प्राप्त गरे । विधागत रुपमा प्रतियोगिताको उत्कृष्ट स्पाईक एपीएफका विजय थापा मगर,उत्कृष्ट सेटर एपीएफका लोकेन्द्र गिरि,उत्कृष्ट लिब्रो एपीएफका बिनोद चन्द र उत्कृष्ट ब्लकर पुलिसका कुल बहादुर थापाले जनही ५ हजार रुपैंया प्राप्त गरे ।
फागुन २६ गतेबाट शुरु भएको प्रतियोगितामा एपीएफ र पुलिस सहित पाथिभरा भलिबल ट्रेनिङ सेन्टर झापा,मधेश प्रदेश,मकवानपुर जिल्ला भलिबल संघ र आयोजक जनशक्ति क्लबले सहभागिता जनाएका थिए ।
प्रतियोगिता कोल्हवी नगरपालिकाको मुख्य सहयोगमा संचालन भएको थियो ।