काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा एपीएफ क्लब र जावलाखेल युथ क्लबबीचको खेल बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार १० खेलाडीमा समेटिएको एपीएफ र जावलाखेलले गोलरहित बराबरी खेलेका छन् ।
रोमान्चक खेलमा दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।
खेलको पाँचौं मिनेटमा एपीएफका सनिश श्रेष्ठको फ्रिकिकमा प्रदिप लामाको हेडर जावलाखेलका गोलकिपर अनिश देउलाले सहजै बचाए ।
खेलको १८ औं मिनेटमा जावलाखेलका अब्दुलअजिज निशोनबाइभको फ्रिकिकमा राहुलले क्रस गरेको बल एपीएफका डिफेन्डर एडमा डम्बियाले क्लियर गर्दै संकट टारे ।
२४ औं मिनेटमा जावलाखेलका फोडे फोफानाले डिबक्स बाहिरबाट प्रहार गरेको बल एपीएफका गोलकिपर अन्जल श्रेष्ठले सहजै आफ्नो नियन्त्रणमा लिए ।
खेलको ३२ औं मिनेटमा एपीएफका हरि कार्की खाली पोस्टमा गोल गर्न चुके । जावलाखेलका गोलकिपर अनिशलाई बिट गर्दै कप्तान नविन लामाले उपलब्ध गराएको बलमा हरिको प्रहार पोस्टमाथि बाहिर गएको थियो ।
खेलको ३९ औं मिनेटमा एपीएफका प्रदिप लामाको कडा प्रहार जावलाखेलका गोलकिपर अनिशले रोकेको बल क्रसबार लाग्दै बाहिरिएको थियो ।
४७ औं मिनेटमा एपीएफका अर्मान्ड बिडोमले बक्स बाहिरबाट प्रहार गरेको बल पोस्टको केहि माथिबाट बाहिरिएको थियो ।
४८ औं मिनेटमा एपीएफका प्रदिप लामाको पासमा हरि कार्कीले हेडअर्फत प्रहार गरेको बल जावलाखेलका गोलकिपर अनिशले मुश्किलले बचाए ।
६९ औं मिनेटमा डिफेन्डर एडमा डम्बियाले रातो कार्ड पाएपछि एपीएफ १० खेलाडीमा समेटियो । एडमाले जावलाखेलका हिसुब थपलियालाई लडाएपछि पहिलो कार्ड प्राप्त गरे । तर, पहेलो कार्डपछि रेफ्रीसँग अभद्र व्यवहार गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले रातो कार्ड देखाउदै उनलाई मैदान बाहिर पठाए ।
खेलको ९० औं मिनेटमा कप्तान नविन लामाको कर्नरमा एपीएफका दिनेश धिमालले पेनाल्टी बक्स भित्रबाट बाहिर प्रहार गरे ।
यस बराबरीसँगै एपीएफले ३ खेलमा ४ अंक जोडेको छ ।
जावलाखेल अपराजित रहदै ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।