निजगढ । विभागीय टिम नेपाल पुलिस क्लबले कोल्हवी भलिबल कपमा विजयी सुरुआत गरेको छ ।
बाराको कोल्हविमा शुक्रबार पुलिसले आयोजक जनशक्ति युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
कोल्हवी बजार स्थित भलिबल ट्रेनिङ सेन्टरमा भएको खेलमा पुलिसले आयोजक जनशक्ति युवा क्लबलाई २५–१४,२५–१० र २५–१३ को अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।
प्रतियोगिताको उद्घाटन कोल्हवी नगरपालिकाका मेयर रामप्रसाद चौधरीले गरेका थिए । जनशक्ति युवा क्लब कोल्हविको आयोजनामा संचालित प्रतियोगितामा आयोजक सहित विभागीय टोलि नेपाल पुलिस क्लब,नेपाल एपीएफ क्लब,मधेश प्रदेश,मकवानपुर जिल्ला भलिबल संघ र पाथिभरा भलिबल ट्रेनिङ सेन्टर झापाको सहभागिता रहेको छ।
फागुन २९ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले २ लाख ५ हजार र उपविजेताले १ लाख ५ हजार प्राप्त गर्नेछ भने तेस्रो हुने टोलीले ५५ हजार रुपैंया प्राप्त गर्नेछ ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार रुपैंया प्राप्त गर्नेछन भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुले जनही ५ हजार रुपैंया प्राप्त गर्ने छन् ।
प्रतियोगिताको मुख्य प्रायोजक कोल्हवी नगरपालिका रहेको छ ।