काठमाडौं । नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले लगातार तेस्रो जित निकालेको हो ।
चर्च ब्वाइजको जितमा आशिष चौधरीले निर्णायक गोल गरे ।
जितपछि चर्च ब्वाइजका सहायक प्रशिक्षक रमेश दंगालले योजना अनुसार खेल्दा तीन अंक जोडेको बताए ।
'खेल राम्रो भयो । योजना अनुसार खेल भईरहेको छ । ३ अंकको लागि खेलेको हो त्यो पायौं,' उनले भने, 'सहि समयमा गोल गर्न नसक्दा दबाब भयो तर समग्रमा ३ अंकका लागि खेलेको आयो ।'
दंगालले फरवार्ड अन्जन विष्ट आगामी खेलबाट मैदान उत्रने बताए ।
प्रक्रिया नपुग्दा उनी शुक्रबार टिममा नभएको उनले बताए ।
हिमालयनका सहायक प्रशिक्षक बिजेन्द्र पुडासैनीले खेलाडीले राम्रो खेलेपनि स्कोरिङमा समस्या देखिएको बताए ।
'अघिल्ला खेलमा भन्दा सुधार भएको छ । खेल चित्तबुझ्दो छ । तर, स्कोरिङमा समस्या देखिएको छ,' उनले भने ।