विराटनगर । मोरङको विराटनगरमा जिल्लास्तरीय अन्तर कलेज भलिबल प्रतियोगिता सुरु भएको छ ।
मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा जिल्लास्तरीय अन्तरकलेज भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको हो ।
पुष्पलालचौकको खेल मैदानमा फाल्गुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागीता रहने आयोजक मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगरका अध्यक्ष गोपाल झाले जानकारी दिए ।
प्रतियोगिताको उद्धाटन नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै थापाले मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजना गरेको खेलले नेपालकै भलिबल खेलको विकासमा महत्वपूर्ण योगदान दिने बताए ।
खेलकुख क्षेत्रमा सरकारहरुले गरेको लगानी अत्यन्त न्यून रहने गरेको बताउँदै उनले नेपाली खेलकुद, खेलाडी र खेलप्रेमीहरुको बलमा मात्र टिकेको बताए । खेलकुद क्षेत्रले देशलाई विश्वमा चिनाउन मद्धत गर्ने भएकाले खेल क्षेत्रको सुधारमा सरकारले ध्यान दिनुपर्ने उनले बताए ।
प्रतियोगिताको उद्धाटन खेलमा इडनबर्ग कलेज विराटनगर विजयी भएको छ । लेटाङ बहुमुखी क्याम्पसलाई १९-२५ र २२-२५ को सोझो सेटमा पराजित गर्दै इडनबर्ग सेमिफाइनमा प्रवेश गरेको छ ।
प्रतियोगितामा विजेतालाई नगद ३१ हजार र उपविजेतालाई २१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गर्ने आयोजकले बताएको छ ।