काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा लगातार दोस्रो हार व्यहोरेको छ ।
च्यासल मैदानमा बिहीबार त्रिभुवन आर्मी क्लबसँग २-० ले पराजित हुँदै मछिन्द्रले लगातार दोस्रो हार व्यहोरेको हो ।
लगातार दोस्रो हारसँगै मछिन्द्र अंक तालिकाको पुछारमा रहेको छ । र, मछिन्द्रको उपाधि होडमा समेत धक्का लागेको छ ।
आर्मीसँगको हारपछि मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवालले हारको कारण खेलाडीको चोट नै भएको बताए ।
'नतिजा राम्रो भएन, २-० ले हार्यौ । हाम्रो फरवार्ड लाइन चोट र कागजको कारण दोस्रो रोजाईका खेलाडी खेलाउनु पर्ने भयो । त्यहिँमाथि आर्मी फिजिकल रुपमा स्ट्रोङ टिम थियो । त्यसैले जुनियर भाइहरुले खेल्न सकेन । ग्राउण्ड पनि अलिकति सानो भएकाले दबाब थेग्न सकेन,' उनले भने ।
प्रशिक्षक कटुवालले अझै २४ खेल बाँकी रहेको कारण उपाधि जित्नेमा आशावादी रहेको बताए ।
'२६ खेलमा अझै २४ खेल बाँकी छ । हामीलाई अझैपनि आशा छ । उपाधि जित्नका लागि टिम बनाएका थियौं । व्यस्त तालिकाले हाम्रो खेलाडीहरु घाइते भए । दुई हारले गार्हो चै हुन्छ । तर, उपाधिकै लागि खेल्छौं,' उनले थपे ।