काठमाडौं । जावलाखेल युथ क्लबले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई २-१ गोल अन्तरले हराउँदै जावलाखेलले लगातार दोस्रो जित निकालेको हो ।
जावलाखेलको जितमा कप्तान सिमान्त थापा र फोडे फोफानाले एक एक गोल गरे ।
एनआरटीका सन्जिब विष्टले एक गोल फर्काए ।
खेलको ६८ औं मिनेटमा सिमान्तले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ७७ औं मिनेटमा फोफानाले गोल गर्दा जावलाखेल २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८० औं मिनेटमा दोस्रो हाफमा मैदान छिरेका एनआरटीका सन्जिबले गोल गरेपनि जावलाखेल २-१ ले विजयी भयो ।
जितसँगै जावलाखेल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
जावलाखेलले २ खेलमा ६ अंक जोडेको छ । जावलाखेलले पहिलो खेलमा मछिन्द्र फुटबल क्लबलाई हराएको थियो ।
एनआरटीको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा एनआरटीलाई सातदोबाटो युथ क्लबले हराएको थियो ।
एनआरटी २ खेलमा अंक विहीन रहदै १२ औं स्थानमा रहेको छ ।