काठमाडौं । एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड- २०७८ अन्तर्गतको पिपुल्स च्वाइस विधाको अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको अवार्ड कार्यक्रममा उषालाई पिपुल्स च्वाइस अवार्डको विजेता घोषणा गरिएको हो ।
खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट सर्वाधिक मत प्राप्त गर्दै उषाले अवार्ड जितेकी हुन् ।
अवार्ड जित्ने क्रममा उषाले मनोनयनमा परेका फुटबलका अन्जन विष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामालाई पछि पारे ।
सर्वाधिक ३८ प्रतिसत मत प्राप्त गर्दै विजेता भएकी उषाले बजार पल्सर मोटरसाइकल प्राप्त गरिन् ।
पिपल्स च्वाइस विधाको लागि ईसेवाको मतभार ५० प्रतिशत रहेको थियो । त्यसैगरी, सामाजिक सञ्जाल (फेसबुक लाइक) को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलब ५ प्रतिशत र खेलपत्रकारको मतभार १२ दशमलब ५ प्रतिशत रहेको थियो ।
उषाको छोटो जानकारी -
नेपाली राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण सदस्य
– नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपाली महिला भलिबल टोलीले रजत जित्दा सदस्य । उनले यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन् । उनले बंगलादेशविरुद्ध खेलेर डेब्यु गरिन् ।
– नेपाल सन् २०१९ मा बंगलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियन टिम बन्दाकी सदस्य । जतिबेला उनी १४ वर्षको उमेरमा थिइन् ।
– नेपालले २०२१ को डिसेम्बरमा दोस्रो पटक सेन्ट्रल जोन भलिबलको उपाधि जित्दाकी महत्वपूर्ण सदस्य ।
– घरेलु प्रतियोगिताहरू नेपाल पुलिस क्लबबाट खेल्ने ।
– माल्दिभ्समा फाल्कोन क्लबबाट सन् २०२२ मा व्यावसायिक प्रतिस्पर्धा
– एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ उत्कृष्ट खेलाडी घोषित