काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लब नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको पहिलो खेलमै पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा मछिन्द्र जावलाखेल युथ क्लबसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
लगातार तेस्रो पटक उपाधि जित्ने योजनामा रहेको मछिन्द्र पहिलो खेलमै जावलाखेलसँग स्तब्ध भएको हो ।
पहिलो खेल हार व्यहोरेपछि मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवालले खेलाडी घाइते हारको कारण बताए ।
'हाम्रा अधिकाशं विदेशी खेलाडी तथा केही नेपाली खेलाडी घाईते रहेका र किपरका केही गल्तीका कारण आजको खेल हार्न पुग्यौं,' उनले खेलपछि भने, 'यो 'ए' डिभिजन लिग अगाडी हामीले धेरै प्रतियोगिताहरुमा सहभागीता जनाएको कारण हाम्रा धेरै खेलाडीहरु घाईते भएका छन् । त्यसकारण हाम्रा रेगुरलका ५/७ जना खेलाडी भएनन् त्यसको बाबजुद पनि हामीले राम्रो खेलेका हौं ।'
उनले जावलाखेल राम्रो टोलीको रहेको बताए ।
'जावलाखेल पनि राम्रो टिममा छ । विभिन्न विदेशी खेलाडीका कारण पनि टोली झनै मजबुत भएको छ । हाम्रा केही विदेशी खेलाडीले वर्कपरमिट नपाउदा समस्या आएको छ । अर्को खेलमा पनि हामी सम्पुर्ण विदेशी कोटाको खेलाडीलाई खेलाउन सक्दैनौ तेस्रो खेलमा चै पूरा देख्न सक्नुहुन्छ ।'
कटुवालले फरवार्ड विमलले अझै केहि खेल गुमाउने बताए ।
'विमल रेस्टमा नै छ उसले अझै केही म्याच मिस गर्छ । लिग अगाडीका केही कप छोड्न नसक्दा हाम्रो टिमलाई यो लिगमा केही घाटा भयो,' उनले थपे ।