काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लब नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको पहिलो खेलमै पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा मछिन्द्र जावलाखेल युथ क्लबसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
जावलाखेललाई जित दिलाउन हिसुब थपलिया, एनकोटो मोसाबी र कप्तान सिमान्त थापाले एक एक गोल गरे ।
मछिन्द्रका देवेन्द्र तामाङले एक गोल फर्काए ।
सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा मछिन्द्रले हार व्यहोरेको हो ।
खेलको २३ औं मिनेटमा देवेन्द्रले फ्रिकिक मार्फत गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । विशाल तामाङले ह्यान्डबल गरेपछि पाएको फ्रिकिकमा देवेन्द्रले उत्कृष्ट गोल गरे ।
तर, खेलको ५९ औं मिनेटमा हिसुबले गोल जावलाखेललाई १-१ गोलको बराबरीमा ल्याए । फोडे फोफानाको पासमा हिसुबले पेनाल्टी क्षेत्रबाट उत्कृष्ट गोल गरे ।
खेलको ६४ औं मिनेटमा एनकोटोले गोल गर्दै जावलाखेललाई २-१ को अग्रता दिलाए । दिवाकर चौधरीको ब्याक पासमा गोलकिपर विशाल श्रेष्ठले क्लियर गरेको बल बाउन्स भएपछि नजिकै रहेका एनकोटोले वान टचमा गोल गरे ।
त्यसपछि खेलको ७६ औं मिनेटमा सिमान्तले गोल गर्दै जावलाखेललाई ३-१ को जित दिलाए । हिसुबको फ्रिकिकमा सिमान्तले हेडरमार्फत गोल गरे ।
जितसँगै जावलाखेलले पहिलो खेलमै ३ अंक जोडेको छ । मछिन्द्रले भने हारबाट लिगको सुरुआत गरेको छ ।