काठमाडौं । कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको पहिलो खेलमा बराबरीमा रोकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङले हिमालयन शेर्पा क्लबसँग १-१ गोलको बराबरी खेलेको हो ।
प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने मनाङले बनाएको थियो ।
खेलको १४ औं मिनेटमा रोशन राना मगरको गोलबाट मनाङले सुरुआती अग्रता बनाएको थियो । रोशनको प्रहार हिमालयनका डिफेन्डर संजित राईलाई लाग्दै गोल भएको थियो ।
तर, खेलको ८५ औं मिनेटमा सुरेश कुमालले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याए । दोस्रो हाफमा मैदान छिरेका सुरेशले मनाङका गोलकिपर दीप कार्की अघि बढेको अवस्थामा गोल गरेका थिए ।
खेलमा मनाङका रोशन म्यान अफ द म्याच चुनिए ।
यस बराबरीसँगै मनाङले पहिलो खेलमा १ अंक जोडेको छ ।
हिमालयनले पनि पहिलो खेलमा १ अंकबाट लिगको सुरुआत गरेको छ ।