काठमाडौं । विभागीय टोली एपीएफ क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टार क्लबलाई २-० गोल अन्तरले हराउँदै एपीएफले सुखद सुरुआत गरेको हो ।
एपीएफको जितमा मणि कुमार लामा र अर्मान्ड बिडोमले एक एक गोल गरे ।
तर, एपीएफले गोलका लागि दोस्रो हाफसम्म कुर्नु परेको थियो ।
खेलको ७२ औं मिनेटमा मणिले फ्रिकिकमार्फत गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । मणिको फ्रिकिक बल थ्री स्टारका गोलकिपर अरुण ब्लोनले समात्न खोज्दा पोस्टको जाली चुमेको थियो ।
त्यसपछि खेलको ८६ औं मिनेटमा अर्मान्डले गोल गर्दै एपीएफलाई २-० को जित दिलाए ।
जितसँगै एपीएफले पहिलो खेलमा ३ अंक जोडेको छ । थ्री स्टारले भने हारबाट लिगको सुरुआत गरेको छ ।