काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत शनिबार नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
चर्च ब्वाइज र पुलिसबीचको खेल च्यासल मैदानमा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुनेछ ।
चर्च ब्वाइजले यस खेलसँगै नेपाली फुटबलको माथिल्लो डिभिजनमा डेब्यु गर्नेछ । च्यासल मैदानको पनि यो डेब्यु खेल हुनेछ ।
चर्च 'बी' डिभिजन लिगको विजेता बन्दै शीर्ष डिभिजनमा उक्लिएको हो । शीर्ष डिभिजनको डेब्यु खेलमा चर्च सुखद सुरुआत गर्न चाहन्छ ।
चर्च ब्वाईजका मुख्य प्रशिक्षक प्रदिप हुमागाईंले राम्रो टोली बनेको कारण लिगमा राम्रो नतिजा दिने बताउछन् ।
'हामीसँग राम्रो टोली छ र खेल राम्रो हुनेछ,' पहिलो खेलअघि उनले भनेका छन् ।
कप्तान अनन्त तामाङले युवा र अनुभवी खेलाडीको मिश्रणको कारण टिम बलियो बनेको बताए ।
'समग्रमा यो युवा र अनुभवी खेलाडीहरूको मिश्रण हो । हाम्रो दुई महिनाको तयारीले पनि हामी हाम्रो भएका छौँ', अनन्तले भने।
पुलिसले भने लामो समयबाट लिग खेल्दै आईरहेको छ ।
पुलिस क्लबका मुख्य प्रशिक्षक चेतन घिमिरेले उत्कृष्ट नतिजाका लागि खेल्ने बताउछन् ।
'हामीलाई गाह्रो हुने छ। हामीले आन्तरिक प्रतियोगिताबाट खेलाडी छनोट गर्नुपर्यो र तिनीहरू युवा छन्। तैपनि हामी आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछौं,' घिमिरेले भने ।
कप्तान रामचन्द्र वाजीले नयाँ प्रशिक्षकले टोलीलाई परिवर्तन गर्ने आशा व्यक्त गरेका छन् ।
'हाम्रो युवा र अनुभवी खेलाडीहरूको संयोजनले राम्रो नतिजा दिनेछ', उनले भने।