काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन क्लब संकटा फुटबल क्लबलाई खेल पोशाक कम्पनि युक्यानले प्रायोजन गरेको छ ।
युक्यानले संकटालाई एक वर्षको लागि प्रायोजन गरेको हो । युक्यानले किट पार्टनरको रुपमा संकटालाई प्रायोजन गरेको हो ।
युक्यानका सिईओ राजन महर्जन र संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले शनिबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै संकटाले 'ए' डिभिजन लिगमा युक्यानको खेल पोशाक लगाउने छ।
कार्यक्रममा संकटा नयाँ सिजनको लिगमा लगाउने जर्सी समेत सार्वजनिक गरिएको थियो ।
'ए' डिभिजन लिग शुक्रबारबाट सुरु भईसकेको छ। संकटाले आइतबार त्रिभुवन आर्मी क्लबसँग खेल्दै लिगको सुरुआत गर्नेछ ।
कार्यक्रममा बोल्दै युक्यानका सिईओ महर्जनले फुटबल प्रतिको लगावको कारण प्रायोजन गरेको बताए । उनले करिब ७ लाख बराबरको प्रायोजन गरिएको बताए ।
संकटाका अध्यक्ष तुलाधरले लिगका लागि क्लबले २ करोड ४० लाख बजेट छुट्टाएको जानकारी दिदै अन्य प्रायोजक खोज्ने कार्य जारी रहेको बताए ।
यस्तै संकटाले स्टाइलिस पार्टनरको रुपमा निल डेभिड सलुनसँग सम्झौता गरेको छ ।
संकटाका अध्यक्ष तुलाधर र निल डेभिडका अनुराग कँडेलबीच सम्झौतामा हस्ताक्षर भयो ।
निल डेभिडका अनुरागले खेलाडीको प्रदर्शनमा सहयोग पुर्याउन क्लबसँग सहकार्य गरिएको बताए ।