काठमाडौं । नवप्रवेशी एफसी खुमलटारले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा शुक्रबार विजयी सुरुआत गर्यो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबलाई १-० गोल अन्तरले हराउँदै खुमलटारले सुखद सुरुआत गरेको हो ।
खुमलटारको जितमा मेसुके ओलुमोउले निर्णायक गोल गरे ।
डेब्यु खेलमै जित निकालेपछि खुमलटारका सहायक प्रशिक्षक मदन सुब्बाले पहिलो खेलमा खेलाडीबीच तालमेल नमिलेको बताए । आगामी दिनमा सुधार गर्दै अझै राम्रो खेल खेल्ने उनले बताए ।
'डेब्यु खेल हो । राम्रो खेल्यौं । आगामी दिनमा झनै राम्रो खेल्छौं जस्तो लागेको छ,' खेलपछि सुब्बाले भने, 'पहिलो खेलमा खेलाडीबीच तालमेल मिलेन । दोस्रो हाफमा राम्रो भयो । विपक्षी टोली पनि राम्रो थियो ।'
सहायक प्रशिक्षक सुब्बाले टिमका कप्तान रेजिन सुब्बा लिगामेन्ट चोटका कारण टिम बाहिर रहेको बताए । उनले २-३ खेलपछि कप्तान सुब्बा खेलमा फर्कने बताए ।
फ्रेन्ड्सका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले विपक्षी टिमको विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शनको कारण हार व्यहोरेको बताए ।
'हामीले राम्रो खेलेको हो । बलमा पकड राख्न सकेनौं । उनीहरुको विदेशी मेसुके र स्टेफेन खेलाडी राम्रो देखियो,' उनले भने, 'हाम्रो १ अंक आउनु पर्ने हो तर भएन । हामी पनि विदेशी खेलाडी आउदै छ । आएपछि राम्रो हुन्छ ।'