काठमाडौं । नवप्रवेशी एफसी खुमलटारले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबलाई १-० गोल अन्तरले हराउँदै खुमलटारले सुखद सुरुआत गरेको हो ।
खुमलटारको जितमा मेसुके ओलुमोउले निर्णायक गोल गरे । उनी म्यान अफ द म्याच चुनिए ।
तर, फ्रेन्ड्सविरुद्ध जित निकाल्दा खुमलटारलाई ८९ औं मिनेटसम्म कुर्नु पर्यो । जया गुरुङको पासमा ओलुमोउले उत्कृष्ट गोल गरे ।
त्यसअघि दुबै टोलीले पाएको केहि अवसरलाई सदुपयोग गर्न सकेनन् ।
खेलको १८ औं मिनेटमा श्याम बाबु क्यापछाकीको क्रसमा फ्रेन्ड्सका उत्तम राईले पोस्ट नजिकबाट बाहिर प्रहार गरे । खेलको ७२ औं मिनेटमा १८ यार्ड नजिकबाट खुमलटारका स्टेफन समिरको फ्रिकिक पोस्ट बारमा लागेर फर्किएको थियो ।
७५ औं मिनेटमा खुमलटारका मेसुके ओलुमोउको डिबक्स भित्रको हेडर फ्रेन्ड्सका गोलकिपर राजा बाबु थापाले मुश्किलले बचाए ।
त्यस्तै ८० औं मिनेटमा फ्रेन्ड्सका लक्ष्मण रुचालको फ्रिकिकमा उत्तम राईको हेडर पोस्ट नजिकबाट बाहिरिएको थियो।
खेलको ८४ औं मिनेटमा खुमलटारका मेसुकेले गोलको सुनौलो अवसर खेर फाले । फ्रेन्ड्सका गोलकिपर थापालाई बिट गर्दै बल अघि बढाएपनि खाली पोस्टमा मेसुकेले प्रहार नगर्दै फ्रेन्ड्सका डिफेन्डर अशिम भुसालले ट्याकल गर्दै गोल हुनबाट बचाए ।
जितसँगै खुमलटारले पहिलो खेलमा ३ अंक जोडेको छ । खुमलटार अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
फ्रेन्ड्सले हारबाट लिगको सुरुआत गरेको छ ।
खुमलटार 'बी' डिभिजन लिगको उपविजेता बन्दै शीर्ष डिभिजनमा उक्लिएको हो । फ्रेन्ड्सले २०३२ देखि माथिल्लो डिभिजन लिग खेलिरहेको छ ।