काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दिर्घबहादुर केसी (कुमार)ले अल्पमतको निर्णयका आधारमा फुटबल चलाउन खोजिएको बताएका छन् ।
एन्फा कार्यसमितिको बुधबारको बैठकको निर्णयबारे टिप्पणी गर्दै केसीले अल्पमतमा निर्णय गरेर नेतृत्व अघि बढ्न थालेको बताए ।
‘आफैले हिजो उठाउँदै आएको सुशासन, पारदर्शीता र सामुहिक नेतृत्वको नारालाई लत्याएर फुटबलको नेतृत्व अल्पमतमा निर्णय गरेर अघि बढ्न थालेको छ । यो फुटबल विकासका लागि राम्रो संकेत हैन ।’ उनले खेलपाटीसँग भने ।
केसी सहित एन्फाका ११ कार्यसमिति सदस्यले बैठकको हाजिरी पुस्किामा हस्ताक्षर नगरेर बैठक बहिष्कार गरेका थिए । महासचिव र कोषाध्यक्ष बर्खास्ती गर्नुपर्ने बिषय एजेण्डाको रुपमा राख्न माग सहित ११ जना कार्यसमिति सदस्यले हस्ताक्षर सहितको पत्र एन्फामा दर्ता गराएका थिए । तर अध्यक्ष पंकज बिक्रम नेम्वाङले बहुमत कार्यसमिति सदस्यको पत्र अनुसार एजेण्डा बैठकमा राख्न सकिने बताएका थिए । सोही विषयलाई लिएर कार्यसमिति सदस्यबीच विवाद उत्पन्न भएको थियो ।
‘बहुमत कार्यसमिति सदस्यले बैठक बहिष्कार गर्दा समेत एजेण्डामाथि एकलौटी निर्णय भएका छन् । नेतृत्वकै कार्यशैलीलाई हेर्दा ५१ प्रतिशत उहाँसंग भएपनि ४९ प्रतिशत त उहाँको निर्णय प्रक्रिया भन्दा बाहिर छन् ।’ केसीले भने, ‘एक जना व्यक्तिको असहमतीलाई समेत नेतृत्वले सम्बोधन गर्न खोज्नुपर्छ । वर्तमान नेतृत्वमा त्यो देखिएन ।’
उपाध्यक्ष केसीले बुधबारको कार्यसमिति बैठकको वैधानिक हैसियत नहुने उल्लेख गरे ।