काठमाडौं । आसन्न लिग तोकिएको समयमै सञ्चालन गर्न माग गर्दै बी डिभिजन क्लबहरुले एन्फामा दबाब दिएका छन् ।
काठमाडौंमा बुधबार भएको एन्फा कार्यसमिति बैठकमै पुगेर बी डिभिजनका क्लबहरुले निर्धारित मितिमै लिग आयोजनाका लागि दबाब दिएका हुन् ।
बी डिभिजनका अधिकांश क्लबको बैठक बसेर यथासिघ्र पूर्व निर्धारित मितिमा लिग गराउन र तयारी वापतको खर्च उपलब्ध गराउन एन्फासँग माग गरेका हुन् ।
एन्फाले चैतको १५ गतेबाट बी डिभिजन लिग गर्ने निर्णय गरेको थियो । तर तयारी खर्च सहित अन्य तयारी गर्न नसक्ने देखिएपछि एन्फाले बी डिभिजन लिग सार्ने तयारी गरेको थियो । तर बी डिभिजन क्लब आबद्ध पदाधिकारीले लिगलाई लिएर तयारी निकै अघि बढाईसकेको उल्लेख गर्दै निर्धारित मितिमै प्रतियोगिता सञ्चालनको माग गरेका हुन् ।
एन्फा बैठकले लिग सार्न सक्ने भन्दै उनीहरुले बुधबार बिहान एन्फा हेडक्वार्टर पुगेर कार्यसमितिका सदस्यहरुलाई लिखित माइन्युट बाँडेका थिए ।
बी डिभिजनको प्लानिङ ब्वाईज युनाईटेड बाहेक अधिकांश क्लबले तयारी खर्च समयमा उपलब्ध गराउन माग गर्दै एन्फामा दबाब दिदै आएका छन् । निर्धारित मितिमा लिग सञ्चालन नगरेमा क्षतीपूर्ती दिनुपर्ने उनीहरुको माग छ ।
लिगलाई लिएर खेलाडी अनुबन्ध, प्रशिक्षण लगायतको काममा क्लबले लगानी गरिसकेको उल्लेख गर्दै निर्धारित मितिमा लिग नभएको खण्डमा क्षतीपूर्ती दिनुपर्ने उनीहरुको माग छ ।