काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को बुधबारको कार्यसमिति बैठक तनावका बीच जारी छ । बिहान ८ बजे बोलाईएको कार्यसमिति बैठक एजेण्डा प्रवेशको विवादले ढिला गरि सुरु भएको थियो ।
एन्फाले १९ वटा एजेण्डा राख्दै कार्यसमिति बैठक बोलाएको थियो ।
तर तीन उपाध्यक्ष सहित बहुमत केन्द्रिय सदस्यले महासचिव र कोषाध्यक्ष बर्खास्ती सहित ६ वटा एजेण्डा थप गर्न माग गर्दै एन्फामा निवेदन दर्ता गराएका थिए । एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङले बहुमत केन्द्रिय सदस्यको प्रस्ताव अनुसार एजेण्डा थप गर्न नसकिने बताएपछि एन्फा बैठकमा विवाद उत्पन्न भएको थियो ।
बहुमत केन्द्रय कार्यसमिति सदस्यलाई बाइपास गरेर अध्यक्ष नेम्वाङ अघि बढ्न खोजेको भन्दै बैठकमा तनाव भएको छ ।
आफ्ना एजेण्डा समावेश नगरि पेलेरै बैठक अघि बढाएपछि असन्तुष्ट १० केन्द्रिय सदस्यले बैठकको हाजिर पुस्तिकामा हस्ताक्षर गरेका छैनन् । अध्यक्ष नेम्वाङले बहुमत केन्द्रिय सदस्यको संख्या देखाएर बैठकलाई जारी राखेका छन् ।
असन्तुष्ट समुहले बहुमत केन्द्रिय सदस्यलाई बाहिर राख्दै बैठक अघि बढाएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् । बैठक सञ्चालनलाई लिएर नेम्वाङ पक्ष र असन्तुष्ट पक्षबीच घम्सा घम्सी समेत परेको छ ।