काठमाडौं । नेपाल कराँते महासंघको केन्द्रिय अधिवेशन चैतमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पुनर्गठन गरेको महासंघको केन्द्रिय अधिवेशन चैत १० र ११ गते हुने भएको हो ।
राखेपले युवराज लामाको अध्यक्षमा महासंघको पुनर्गठन गर्दै तीन महिनाभित्र निर्वाचन गर्न समयसिमा दिएको थियो । लामा नेतृत्वको तदर्थ कमिटीले चैत १० र ११ गते चितवनमा अधिवेशन गर्ने निर्णय गरेको हो ।
महासंघको संशोधित विधान अनुसार सितोरियो, वादरियो, गोजिरियो र सेतोकान कराँते दो संघले कराँतेको राष्ट्रिय संघको रुपमा मान्यता पाउनेछन् ।
महासंघको नयाँ कार्यसमिति २५ सदस्यीय बन्नेछ । महासंघको ७ प्रदेशमा प्रदेश कमिटी गठन हुनेछ । प्रत्येक प्रदेशबाट ५–५ जना प्रतिनिधि केन्द्रय निर्वाचनमा छनोट हुनेछन् ।
यसैगरी चार कराँते संघबाट ५–५ जना प्रतिनिधि केन्द्रिय निर्वाचनका लागि छनोट हुनेछन् । आसन्न केन्द्रिय निर्वाचनमा वर्तमान २१ जनाको तदर्थ कमिटीका सदस्य स्वत मताधिकार सहितका प्रतिनिधि छनोट हुनेछन् ।
केन्द्रिय अधिवेशनमा ७६ जनाको मताधिकार रहनेछ । सोही मताधिकार सहितका प्रतिनिधिले नेपाल कराँते महासंघको नयाँ नेतृत्व चयन गर्नेछ ।