काठमाडौं । सातदोबाटो युथ क्लबले आसन्न ए डिभिजन लिगमा लिनिङ ब्राण्डको स्पोर्ट्स किट प्रयोग गर्ने भएको छ । मंगलबार सातदोबाटो युथ क्लब र लिनिङको नेपालको आधिकारिक बिक्रेता चाईना ट्रेड लिङ्क प्रालीबीच खेल सामाग्री सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
क्लबका अध्यक्ष कपिल राना मगर र लिनिङ नेपालका प्रमुख राजन महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौताको अवधि एक वर्षलाई रहेको बताईएको छ । सम्झौताको रकम खुलाईएको छैन । फागुन १९ गतेबाट सुरु हुने शीर्ष श्रेणीको फुटबलमा सातदोबाटोले लिनिङको किट प्रयोग गर्ने सम्झौतामा उल्लेख छ ।
लिनिङको नेपालको आधिकारिक बिक्रेता चाईना ट्रेड लिङ्क प्रालीका प्रमुख कार्यकारी अधिकृत राजन महर्जनले सातदोबाटोले होम म्याचमा लिनिङ र अवे म्याचमा चाईना ट्रेड लिङ्क प्रालीकै युक्यान ब्राण्डको जर्सी लगाउने बताए ।
उनले ललितपुरका प्रभावशाली खेलाडीलाई राष्ट्रिय खेलाडी बनाउन सहयोग पुर्याउने उद्धेश्यले सहयोगको हात अघि बढाएको उल्लेख गरे । ललितपुर स्थायी घर भएका महर्जनले सानो छदाँ विद्यालय बढ्दा सातदोबाटो क्लबको कार्यालय हुँदै आउ-जाउ गरेको स्मरण गर्दै लिनिङको सहकार्यले ललितपुरको विकट क्षेत्रका खेलाडीलाई माथि आउन योगदान पुग्ने अपेक्षा ब्यक्त गरे ।
‘सानो छदाँ अरनिको माध्यामिक विद्यालय पढ्दै गर्दा सातदोबाटो क्लबको कार्यालय रहेको स्थान हरेक दिन आफुले देख्ने गरेको याद आईरहेको छ । यस सहकार्यले सातदोबाटो क्लबले दक्षिण ललितपुरका प्रभावशाली खेलाडीलाई राष्ट्रिय स्तरको फुटबल खेलाडी बन्न सहयोग पुर्याउने विश्वास लिएको छु ।’ उनले भने ।
चीनियाँ स्पोर्टस ब्राण्ड लिनिङले नेपालको फुटबल, बास्केटबल लगायतका लोकप्रिय खेलमा सहकार्य गर्दै आएको छ ।
सातदोबाटो युथ क्लबका अध्यक्ष कपिल राना मगरले कठिन समयमा प्राप्त सहयोगका लागि लिनिङलाई धन्यबाद दिए । ‘कठिन समयमा हौसला दिने काम गर्नुभएको छ । त्यसका लागि धन्यबाद छ । क्लब आसन्न लिगका लागि तयारी अवस्थामा छ ।’ उनले भने ।
गत वर्ष ए डिभिजनमा बढुवा भएको सातदोबाटोले सनसनीपूर्ण प्रर्दशन गर्दै शीर्ष चारमा लिग सकाएको थियो । यस सिजन समेत पुरानो नतिजालाई सुधार गर्ने लक्ष्य सहित क्लबले तयारीलाई अन्तिम चरणमा पुर्याएको छ ।
लिगको तयारी स्वरुपम सहभागी केपी ओली कप च्याम्पियनसिपको उपाधिका लागि बुधबार सातदोबाटोले मछिन्द्रसँग खेल्दैछ ।