काठमाडौं । आयोजक न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
पुरानो नैकापस्थित न्यु डायमण्डको निर्माणधीन कोर्टमा शनिबार भएको फाइनलमा एभरेस्ट मावि बुटवललाई ३-१ को सेटमा हराएर आयोजक न्यू डायमण्ड च्याम्पियन बनेको हो ।
अयोजक डायमण्डले एभरेस्टलाई २५-१९,२५-२०, २१-२५ र २६-२४ ले हराएर उपाधि चुमेको हो ।
उपाधिसँगै डायमण्डले ५ लाख रुपैया, ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको एभरेस्टले २ लाख ५० हजार प्राप्त गर्यो ।
प्रतियोगितामा धादिङ स्पोर्ट्स क्लबले तेस्रो स्थान हासिल गर्यो ।
धादिङले ब्राइट फ्युचर मावि सलकपुर मोरङलाई हराएर तेस्रो स्थान हासिल गरेको हो ।
तेस्रो भएको धादिङले १ लाख र चौथो ब्राइटले ५० हजार रुपैया प्राप्त गरेको छ ।
डायमण्डकी जेनिशा विश्वकर्मा च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् । उनले २५ हजार र ट्रफी प्राप्त गरिन् । धादिङकी सजिना बुढाथोकी उदियमान खेलाडी घोषित भइन् । उनले १५ हजार रुपैया र ट्रफी हात पारिन् ।
डायमण्डकी सलिना बुढामगर उत्कृष्ट सर्भर, डायमण्डकै प्रगति नाथ सेटर, डायमण्डकै एन्जिला प्रधान उत्कृष्ट डिफेन्डर र डायमण्डकै कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । एभरेस्टकी निशा चौधरी उत्कृष्ट स्पाइकर र ब्राइट फ्युचरकी सोनिया बस्नेत उत्कृष्ट ब्लकर घोषित भइन् । उनीहरु सबैले समान १० हजार रुपैया र ट्रफी प्राप्त गरे ।
च्याम्पियनसिपमा ७ टोलीले सहभागिता जनाएका थिए ।