काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजनाको तयारी गरेको छ । फागुन १९ गतेबाट सुरु हुने ए डिभिजन लिगको प्रारम्भिक ब्रेकपछि एन्फाले तीन देश सम्मिलित थ्री नेसन्स कप आयोजनाको तयारी गरेको हो ।
नेपालले आगामी चैतमा भुटान र लाओसलाई समावेश गर्दै प्रतियोगिता आयोजनाको तयारी थालेको हो । प्रतियोगिता आयोजनाका लागि एन्फाले कार्यसमिति बैठकमा प्रतियोगिता आयोजनाको एजेण्डा समेत समावेश गरेको छ । एन्फा कार्यसमिति बैठक फागुन १७ गते काठमाडौंमा बस्दैछ ।
‘भुटान र लाओसलाई समावेश गरेर थ्री नेसन्स कप आयोजना गर्ने तयारी छ । सोही अनुसार प्रक्रिया अघि बढेको छ । कार्यसमितिबाट पास गरेर चैतमा प्रतियोगिता गर्ने हो ।’ एन्फाका एक कार्यसमिति सदस्यले खेलपाटीसँग भने ।
नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । कोभिडले थलिएको नेपाली फुटबललाई चलायमान बनाउन र आर्थिक रुपमा सबल बन्न भन्दै एन्फाले थ्री नेसन्स कप प्रतियोगिताको आयोजना गरेको थियो । कीर्गिस्तानको ओलम्पिक टिम र बंगलादेशको राष्ट्रिय टिमलाई प्रतियोगितामा समावेश गरेको थियो । फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल सिरिजको च्याम्पियन बनेको थियो ।
एन्फाले फागुन १९ गतेबाट सुरु हुने लिगको पाँचौ चरणसम्मको खेल तालिका सार्वजनीक गरेको छ । पाँचौ चरणको खेलपछि मोफसलका प्रतियोगितालाई समय दिने एन्फाले तालिका छ । पाँचौ चरणको खेलपछि मोफसलका चर्चित प्रतियोगिताहरु खप्तड गोल्डकप, विराट गोल्डकप, सिमरा गोल्डकप, तिलोतमा गोल्डकप, इटहरी गोल्डकप, कोहलपुर गोल्डकपले आयोजनाको स्विकृत पाएका छन् । सोही समयमा थ्री नेसन्स कप आयोजना गर्ने एन्फाको तयारी छ ।
राष्ट्रिय टिमका खेलाडीको विदेश पलायनले फुटबलप्रति आम सर्वसाधारणको चासो नकारात्मक देखिन्छ । थ्री नेसन्स कप आयोजना गरेर फुटबलको माहोल फर्काउने र आर्थिक संकटमा रहेको संस्थाको कोषलाई दरिलो बनाउने एन्फाको योजना देखिन्छ ।