काठमाडौं । एभरेस्ट मावि बुटवल, धादिङ स्पोर्ट्स क्लब धादिङ र ब्राइट फ्युचर मावि सलकपुर मोरङ काठमाडौंमा जारी बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
एभरेस्ट समूह ‘क’ को विजेता तथा धादिङ उपविजेता बनेर अन्तिम चारमा पुग्दा ब्राइट फ्युचर समूह ‘ख’ को उपविजेताको रुपमा अघि बढेको हो । समूह ‘ख’ बाट यसअघि नै आयोजक न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ ।
पुरानो नैकापस्थित न्यु डायमण्डको निर्माणधीन कोर्टमा बिहीबार भएको खेलमा एभरेस्टले दोहोरो सफलता हात पार्दै समूह ‘क’ को विजेता बनेको हो । पहिलो खेलमा दुप्चेश्वर गाँउपालिका नुवाकोटलाई २५–४, २५–४ र २५–१० ले पराजित गरेको एभरेस्टले आफ्नो समूहको अन्तिम खेलमा नमोबुद्ध नगरपालिका काभ्रेलाई २५–१३, २५–८ र २५–८ ले पराजित गर्यो । यस जितसँगै एभरेस्टले तीन खेलबाट ९ अंक बटुल्यो ।
अर्काे खेलमा धादिङ स्पोर्ट्स क्लब धादिङले नमोबुद्ध नगरपालिका काभ्रेलाई २५–१५, २५–१६ र २५–१८ ले पराजित गर्दै समूह उपविजेता बन्यो । धादिङले तीन खेलबाट ६ अंक बटुल्यो । बिहीबार दुई खेलमा हार बेहोरेको नमोबुद्धले ३ खेलबाट ३ अंक बटुलेर तथा दुप्चेश्वर जित र अंकविहीन हुँदै बाहिरियो ।
अर्काे खेलमा ब्राइट फ्युचरले परोपकार आदर्श माविलाई २५–१४, २५–१४ र २५–२२ ले पराजि गर्दै समूह ‘ख’ को उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । ब्राइट फ्युचरले दुई खेलबाट ३ अंक जोड्यो । परोपकार अंक र जितविहीन हुँदै बाहिरियो । यससँगै च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा भएको छ ।
अब सेमिफाइनलमा शुक्रबार समूह ‘क’ को विजेता एभरेस्ट र ‘ख’ को उपपिवजेता ब्राइट फ्युचरबीच तथा अर्को सेमिफाइनलमा समूह ‘ख’ को विजेता डायमण्ड र ‘क’ को उपविजेता धादिङबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैया, ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछ । दोस्रो हुनेले २ लाख ५० हजार, तेस्रो हुनेले १ लाख र चौथोले ५० हजार रुपैया प्राीत गर्नेछ । विधागततर्फ सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र ट्रफी र उदियमान खेलाडीले १५ हजार रुपैया र ट्रफी पाउनेछ । उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान १० हजार रुपैया र ट्रफी प्राप्त गर्नेछ ।