काठमाडौं । खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७८ का लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्लाजा होटल ग्रुपसँग सह-प्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ ।
सह-प्रायोजनका लागि मञ्चका कार्यबाहक अध्यक्ष निरञ्जन अधिकारी र प्लाजा होटल ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
१९ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड आउँदो फागुन २३ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ।
सह–प्रायोजक बनेवापत प्लाजा होटलले अवार्ड कार्यक्रममा लागि आउने अतिथिको आवास सुविधाको व्यवस्था गरिदिने सम्झौतामा उल्लेख छ । त्यससहित मञ्चले आयोजना गर्ने कार्यक्रमहरूका लागि स्थान उपलब्ध गराउने छ ।
सम्झौता कार्यक्रममा गु्रपका प्रबन्ध निर्देशक श्रेष्ठले खेलकुदको प्रतिष्ठित कार्यक्रममा आफ्नो संस्था निरन्तर सहयात्रामा रहन पाएकोमा खुसी व्यक्त गर्दै खेलकुदका लागि सहयोग गर्न आफू पछि नपर्ने बताए ।
मञ्चका कार्यवाहक अध्यक्ष निरञ्जन अधिकारीले प्लाजा होटल गु्रपसँगको सहकार्यलाई निरन्तरता दिएकोमा गु्रपका प्रवन्ध निर्देशक युवराज श्रेष्ठप्रति धन्यवाद व्यक्त गरे ।
अवार्डमा यसपटक वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष प्रशिक्षक, वर्ष युवा खेलाडी, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्स जर्नालिस्ट अवार्ड गरी ९ विधा समावेश छ ।
जसमा पाँच विधाका विजेताहरूले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेताहरूले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
अवार्डको चर्चित विधा पिपल्स च्वाइस अवार्डको मनोनित खेलाडीहरू सार्वजनिक भइसकेका छन् । यस विधामा क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट, पौडीकी डुवाना लामा, भलिबलकी उषा भण्डारी मनोनयनमा परेका छन् ।
पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीलाई समर्थकहरूले विद्युतीय भुक्तानीको सेवाप्रदायक कम्पनी ई–सेवामार्फत मतदान गर्न सक्नेछन् । त्यसको मतभार ५० प्रतिशत हुनेछ । त्यस्तै एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको आधिकारिक फेसबुक पेजमा गएर आफूलाई मनपर्ने खेलाडीको फोटोमा लाइक गरेर पनि मतदान गर्न सकिनेछ । यसको मतभार २५ प्रतिशत हुनेछ ।
त्यसबाहेक खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकहरूले पनि मतदान गर्ने छन् । खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकले गर्ने मतदानको मतभार समान १२.५ प्रतिशत हुनेछ । मनोनयनमा परेका खेलाडीलाई फागुन २१ गते राति १२ बजेसम्म मतदान गर्न सकिनेछ ।
उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडीको मनोनयन केही दिनमा सार्वजनिक हुनेछ ।