काठमाडौं । थाइल्यान्डको बैंककमा हुने १८ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
फागुन २८ देखि चैत ६ गतेसम्म हुने प्रतियोगिताको पुरुष ५७ केजीमा गुणराज रुचाल, ५४ केजीमा पुर्णजित राई, ७१ केजीमा नवराज पराजुली र ५१ केजीमा सञ्जय राईले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महिला ४८ केजीमा डेनिका राईले खेल्ने छिन् ।
प्रशिक्षकमा गणेशलाल कक्षपति तथा व्यवस्थापकमा निलम अधिकारी छन् । गुणराज, पुर्णजित र नवराज प्रशिक्षणमा पनि सहभागी हुने भएकाले बुधबारै बैंकक प्रस्थान गरिसकेका छन् । बाँकी टोली पछि जाने छ ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
विश्व च्याम्पियनसिपको फरक संस्करणमा नेपालले हालसम्म १ स्वर्ण, १ रजत र ७ कांस्य पदक जितेको नेपाल राष्ट्रिय मुवाँथाइ संघले जनाएको छ ।