काठमाडौं । एसियन क्रस कन्ट्री प्रतियोगिताका लागि खेलाडी छनोट भोलि (मंगलबार) हुने भएको हो । नेपाल एथलेटिक्स संघले खुल्ला रुपमा नेपालबाट सहभागीता जनाउने खेलाडी छनोट गर्न लागेको हो । २४ वर्षपछि नेपालले एसियन क्रस कन्ट्री प्रतियोगिता दोस्रो पटक आयोजना गर्दैछ । १६ औं संस्करणको प्रतियोगिता फागुन २३ गते काठमाडौंमा आयोजना हुदैछ ।
एथलेटिक्स संघका सचिव आरके विष्टले मंगलबार बिहान खुल्ला रुपमा खेलाडी छनोट गरिने खेलपाटीलाई बताए । ‘रंगशालामा सांगेतिक कार्यक्रमको तयारीले गर्दा रोड रेसमार्फत खेलाडी छनोट गर्ने तयारी गरेका छौं । अन्तिम समयमा छनोट खेल्ने खेलाडीको टुङ्गो लाग्नेछ ।’ उनले भने ।
नेपालले एसियन क्रस कन्ट्रीको चार विधामा ५÷५ जनाका दरले खेलाडी सहभागी गराउने तयारी गरेको छ । विष्टका अनुसार आयोजक देश भएका कारण चार वटै विधामा अधिकतम खेलाडी सहभागी गराउने नेपालको योजना छ ।
काठमाडौंको गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टमा सञ्चालन हुने प्रतियोगितामा सिनियर पुरुष र महिलातर्फ १० किलोमिटर, २० वर्षमुनिका जुनियर पुरुषतर्फ ८ किलोमिटर र २० वर्षमुनिको जुनियर महिलातर्फ ६ किलोमिटर गरि चार विधामा व्यक्तिगत र टिम इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।
सहभागी देशले एउटा विधामा तीन जना खेलाडीलाई सहभागी गराउन सक्ने व्यवस्था छ । एउटा विधामा पाँचजना सम्म खेलाडी सहभागी देशले उतार्न सक्नेछ ।
प्रतियोगितामा नेपाल सहित एसियाका करिब ३० राष्ट्रले सहभागीता जनाउने अपेक्षा गरिएको छ ।