काठमाडौं । १६ औं संस्करणको एसियन क्रस कन्ट्री च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।
नेपाल एथलेटिक्स एसोसियसनले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता नेपालमा आयोजना हुने जनाएको छ ।
एसियन एथलेटिक्स एसोसियसनको तत्वावधानमा हुने प्रतियोगिता फागुन २३ गते बिहीबार आयोजना हुनेछ ।
प्रतियोगितामा नेपालसहित एसियाका ३० देखि ४० राष्ट्रका करिव ४५० जना खेलाडीहरुको सहभागिता जनाउने छन् ।
गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टको एरियामा संचालन हुने प्रतियोगितामा सिनियर पुरुष र महिलातर्फ १० कि. मि., २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ कि.मि. र २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ कि.मि.का कूल ४ विधामा व्यक्तिगत र टिम ईभेन्टसहरुमा प्रतिष्पर्धा हुनेछ ।
यस प्रतियोगिता नेपालले दोश्रो पटक आयोजना गर्ने लागेको हो । यस अघि करिव २४ वर्ष अगाडी सन् १९९९ मा यस प्रतियोगिता नेपालले आयोजना गरेको थियो ।
यस प्रतियोगितामा नेपालबाट सहभागीता जनाउने खेलाडी फागुन ९ गते छनोट गरेर बन्द प्रशिक्षणमा राखिने छ ।
पत्रकार सम्मेलनमा बाेल्दै नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवबिक्रम शाहले नेपाल आयाेजक देशकाे रूपमा रहने र प्रतियाेगिताकाे सञ्चालन एसियन एथलेटिक्सले गर्ने बताए । उनले प्रतियाेगितामा जापान, ताईवान, हङकङ, काेरिया लगायतका पावर हाउस देशका खेलाडी सहभागी हुने बताए।
बागमती प्रदेशका सदस्य सचिव सुर्यलाल भण्डारीले विदेशी खेलाडी सहभागी हुने खेल र प्रतियाेगितासंग सहकार्य गर्ने नीति अनुसार एसियन क्रस कन्ट्रीसंग सहकार्य गरिएकाे बताए ।
'जुन खेलमा विदेशी खेलाडीकाे सहभागिता हुन्छ । त्यसमा सहयाेग र सहकार्य गर्ने बागमती प्रदेशकाे नीतिनै हाे । साेही प्राथमिकताकाे आधारमा यस खेललाई सहयाेग गरेकाे हाे ।' उनले भने ।
एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरूङले साफ क्षेत्रमा राम्राे नतिजा निकाल्ने गरि नेपाली खेलाडी प्रतिस्पर्धामा उत्रने बताए ।
'एसियामा नेपाल कमजाेर छ । साफ रिजनमा राम्राे नतिजा निस्कन्छ भन्नेछ ।' उनले भने ।