काठमाडौं । 'एसियन गेम्स फन रन' भोलि शुक्रबार ललितपुरमा आयोजना हुने भएको छ ।
नेपाल ओलम्पिक कमिटी एनओसीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै 'एसियन गेम्स फन रन' हुने जनाएको छ ।
चीनमा आयोजना हुने एसियन गेम्सको प्रचारप्रसारका लागि आयोजना हुने 'एसियन गेम्स फन रन' ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरमा हुनेछ ।
बिहान ७ बजे सुरु हुने रन गाबहाल, पुल्चोक, कृष्ण गल्लि, पाटन ढोका, अशोक हल, भीमसेन मन्दिर हुँदै पाटन दरबार स्क्वायरमा पुगेर टुंगिने छ ।
ओलम्पिक काउन्सिल अफ एसियाको कार्यक्रम अन्तर्गत रहेको फन रनमा बिद्यार्थी, पत्रकार, खेलसँग सम्बन्धित पदाधिकारीहरुको सहभागिता रहनेछ ।
नेपालमा दोस्रो पटक फन रन आयोजना गर्न लागिएको एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए ।
चीनको होङजाउमा आयोजना हुने एसियन गेम्स २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुदैछ ।
एसियन गेम्स ५६ भेन्युमा हुनेछ भने ३१ ट्रेनिङ भेन्यु हुनेछ । यस पटक ४० खेलको ४८३ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।