काठमाडौं । बागमती प्रदेश न्यू डायमण्ड कप यू-१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप फागुन दोस्रो हप्ता आयोजना हुने भएको छ ।
आयोजक न्यु डायमण्ड युथ स्पोर्टस क्लबले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता फागुन ९ देखि १३ गतेसम्म आयोजना हुने जनाएको छ ।
प्रतियोगितामा १० देखि १२ टोलीले सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता लिग कम नकआउट पद्दतिबाट वेस्ट अफ फाइभको आधारमा खेलाइने छ ।
नेपाल भलिबल संघको प्राविधिक सहयोग र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आर्थिक सहयोगमा हुने प्रतियोगिता क्लबको निर्माणाधिन खेल मैदानमा हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख, उपविजेता २ लाख ५० हजार र तेस्रोले १ लाख तथा सान्त्वना पुरस्कार विजेताले ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार पुरस्कार पाउने छन् ।
उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट प्रशिक्षकले जनही १० हजार पाउने छन् । उदियमान खेलाडीले १५ हजार पाउने छन् ।
प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य उमेर समूहको खेलाडीलाई बलियो बनाउनु रहेको क्लबका अध्यक्ष कुमार राईले जानकारी दिए ।