काठमाडौं । जुनियर डेभिस कप तथा बिली जिन किङ कपमा सहभागी हुन ५ सदस्यीय नेपाली टोली बिहीबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्ने भएको छ ।
डेभिस कपमा ३ ब्वाइज तथा किङ कपमा २ गर्ल्स खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।
डेभिस कपमा आयुशमान हजुर घले, श्रृजन भट्टराई र श्रीयोग अधिकारीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । किङ कपमा सुनिरा थापा र प्रशंसा मोक्तानले खेल्ने छन् ।
टोलीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले बुधबार एक कार्यक्रमबीच बिदाइ गरिन् । यु–१६ उमेरसमूहको दुवै प्रतियोगिता फेब्रुअरी २० देखि २५ तारिखसम्म हुनेछ ।
यसैबीच मलेसियाको कुचिङमा हुने वल्र्ड जुनियर टेनिस कम्पिटीसन, फाइनल क्वालिफाइङ इभेन्टका लागि ३ गर्ल्स खेलाडी छनोट भएको कार्यालय सचिव देवकोटाले जानकारी गराए । मार्च २० देखि २५ तारिखसम्म हुने प्रतियोगिताका लागि स्वस्तिका विष्ट, शिभाली गुरुङ र समृद्धि महर्जन छनोट भए । प्रशिक्षकमा कान्छा खड्गे छन् ।