काठमाडौं । तेस्रो संस्करणको मञ्जुश्री अन्तराष्ट्रिय अल्ट्रा ट्रेल रेस फागुनको तेस्रो साता आयोजना हुने भएको छ ।
प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेश र स्वतन्त्र सामाजिक प्रतिष्ठान, पोखराको संयुक्त आयोजनामा हुने ट्रेल रेस फागुन २०, २१ र २२ गते हुनेछ ।
काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाको भुगोललाई समेटेरे सञ्चालन हुने ट्रेल रेसमा ६ वटा विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा करिब ४० देशका ३५० जना धावकहरूको सहभागिता रहने छ ।
प्रतियोगितामा १०० माईलको महिला तथा पुरुष अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस, १०० कि.मि.को महिला तथा पुरुष अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस, ५४ कि.मि.को महिला तथा पुरुष अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस, २४ कि.मि.को अन्तर्राष्ट्रिय ट्रेल रेस, १० कि.मि. को अन्तर्राष्ट्रिय ट्रेल रेस र ५ कि.मि. को अन्तर्राष्ट्रिय ट्रेल रेस विधा समावेश गरिएको छ ।
१०० माईलको (महिला तथा पुरुष) अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेसको विजेताले १ लाख ५० हजारसहित ट्रफी, उपविजेताले ७५ हजार र तेस्रो हुनेले ३७ हजार ५ सय प्राप्त गर्दा चौंथो र पाँचौले क्रमशः २० हजार र १० हजार पाउने छन् ।
१०० कि.मि.को (महिला तथा पुरुष ) अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेसको विजेताले ७५ हजार, उपविजेताले ३७ हजार ५०० र तेस्रोले २० हजार पाउँदा चौंथो र पाँचौले क्रमशः १० हजार र ५ हजार नगद पुरूस्कार पाउने छन् ।
५४ कि.मि.को महिला तथा पुरुष अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेसको विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रोले २० हजार पाउँदा चौंथो र पाँचौले १० हजार र ५ हजार नगद पाउने छन् ।
२४ कि.मि.को महिला तथा पुरुष अन्तर्राष्ट्रिय ट्रेल रेसको विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १५ हजार पाउने छन् ।
१० कि.मि.को महिला तथा पुरुष अन्तर्राष्ट्रिय ट्रेल रेसको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रोले ५ हजार पाउने छन् ।
५ कि.मि.को महिला तथा पुरुष अन्तर्राष्ट्रिय ट्रेल रेसको विजेताले १० हजार, उपविजेताले ६ हजार र तेस्रोले ३ हजार पाउने छन् ।
प्रतियोगितामा सहभागिता जनाउन अनलाईन प्रणालीमार्फत नाम दर्ता गर्नु पर्नेछ । प्रतियोगिता अवधिभरमा २४ जना रेस कोर्ष डिजाईनर, ५ जना रेस कोर्ष मार्कर, ३८ जना रेस टाईमिङ पर्सन तथा ३८ जना सर्विस पर्सनको प्रत्यक्ष निगरानी एवम् रेफ्री तथा अफिसियको रोहवरमा रेस प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगितामा समावेश हुने खेलाडीहरुका लागि आवश्यक खेल पोशाक ( टी सर्ट) को व्यवस्थापन आयोजकले गर्नेछ । प्रतियोगितामा समावेश हुने प्रत्येक खेलाडीहरुलाई रेस आयोजकको तर्फवाट सहभागिताको प्रमाणपत्र व्यवस्था गरिएको छ ।
प्रतियोगिताका लागि बागमती प्रदेशले ५० लाख उपलब्ध गराउने बागमती प्रदेशका प्रदेश खेलकुद विकास परिषद्का सदस्य-सचिव सुर्यलाल भण्डारीले जानकारी दिए ।
नेपाली खेलाडीले जित्ने र नेपालमा उच्च सम्भावना खेल भएकोले प्रतियोगितालाई सहयोग गरिएको सदस्य सचिव भण्डारीले बताए ।
'धेरै प्रतियोगिता रमाइलोका लागि भएको देखियो । त्यस्ता प्रतियोगिताका लागि धेरै सहयोगका लागि आए । त्यसैले हामीले नेपालमा उच्च सम्भावना र नेपाली खेलाडीले जित्ने, नेपाली खेलाडीलाई फाईदा पुग्ने महसुस गरेर यस प्रतियोगिता गर्न लागेका हौँ,' सदस्य सचिव भण्डारीले भने, 'प्रदेश सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको छ । अर्को वर्षका लागि समेत बजेट छुट्टाईन्छ । प्रदेश सरकारले खेलकुदका लागि यती धेरै छुट्टाएको पहिलो हो ।'