इलाम । भद्रपुर–झापा गोल्डकप प्रर्वद्धन गर्न भद्रपुर रन २०७९ प्रतियोगिता सुरु हुने मिति नजिकिँदै जाँदा प्रचारपसारको उद्धेश्य राखेर मिनी म्याराथन ‘भद्रपुर रन २०७९’ आयोजना गरिएको छ ।
भद्रपुर झापा गोल्ड कप आयोजक समितिले प्रतियोगितालाई अझ व्यापक बनाउन भद्रपुर रन २०७९ सम्पन्न गरेको हो।
पुरुष तर्फ हपन्वा टुडू र महिला तर्फ सुस्मिता राईले उपाधि जित्न सफल रहिन् । पाँच किलोमिटर दूरीको भद्रपुर रनमा पुरुषतर्फ हपन्वाले १८ मिनेट १७ सेकेन्ड र महिलातर्फ सुस्मिताले ३२ मिनेटमा दूरी पार गर्दै उपाधि हात पारेका हुन् । त्यस्तै, पुरुषतर्फ आशिषकुमार दोस्रो र सुदीप राई तेस्रो भए ।
महिलातर्फ विन्दा राई दोस्रो र मनिता राई तेस्रो भइन् । भद्रपुर–६ स्थित मेची पूलबाट सुरु भएको प्रतियोगिता भद्रपुर बजार–भानुचोक–संगम चोक–सगरमाथा चोक हुँदै मेची रंगशालामा पुगेर सम्पन्न भएको थियो ।
प्रतियोगिताका प्रथम धावकलाई नगद पाँच हजार, दोस्रोलाई तीन हजार, तेस्रोलाई दुई हजार र टिसर्ट पुरस्कार प्रदान गरिएको छ । यस्तै चौथोदेखि दसौँसम्म हुने धावकलाई जनही नगद एक हजार र टिसर्ट प्रदान गरिएको छ । खेलकुद क्षेत्रलाई चलायमान बनाउन भद्रपुर रनले मद्धत पुग्ने भद्रपुर गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए ।
आगामी फागुन ७ गतेबाट मेची रंगशालमा भद्रपुर झापा गोल्डकप आयोजना हुँदैछ ।