काठमाडौं । वेन्बो बाइ र झाङ क्विन वेइले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौं, नेपाल सर्किट– २ अन्तर्गत सिंगल्स स्पर्धामा शनिबार स्वर्ण जितेका छन् । दुवै चीनका हुन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज सिंगल्स फाइनलमा वेन्बोले भारतका प्रत्यशलाई पराजित गरे । पहिलो सेट वेन्बोले ६–० ले सहजै जितेका थिए । दोश्रो सेटमा वेन्बो १–० ले अगाडि रहेका अवस्थामा प्रत्यश रिटायर्ड हर्ट भएपछि वेन्बोलाई विजेता घोषित गरिएको थियो ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गर्ल्स सिंगल्समा झाङले मंगोलियाकी मराल्गु चोक्सोम्जाभलाई ६–० र ६–४ को सोझो सेटमा पराजित गरिन् । सर्किट– १ मा पनि मराल्गु उपविजेतामै सीमित भएकी थिइन् । सर्किट– १ मा मराल्गु आफ्नै दिदी मार्तासंग चुकेकी थिइन् ।
शुक्रबार सम्पन्न डबल्स फाइनलको ब्वाइजमा भारतका सेहजसिंह पवार र देबशिष साहु तथा गल्र्समा बेल्जियमकी क्यामिली फिसेट र रुसकी मिलिना शुब्खान्कुलोभाको जोडीले स्वर्ण जितेका थिए ।
सर्किट– १ मा स्वर्ण जितेका कुनैपनि खेलाडीले सर्किट– २ मा स्वर्ण जित्न सफल भएनन् । सर्किट– १ को ब्वाइज सिंगल्समा भारतका देबशिष साहु तथा गल्र्स सिंगल्समा मार्ता पहिलो भएका थिए । डबल्सको ब्वाइजमा नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडा तथा गल्र्समा मार्ता र मराल्गुको जोडी च्याम्पियन बनेका थियो ।
विजेतालाई नेपाल टेनिस संघका उपाध्यक्ष केशवराज पाण्डे र सदस्य जयजीव हाडाले एक कार्यक्रमबीच पुरस्कृत गरे । छदिने प्रतियोगितामा समान ३२–३२ ब्वाइज÷गल्र्स खेलाडीले सिंगल्स र डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा गरेको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।