काठमाडौं । नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौं, नेपाल सर्किट– २ अन्तर्गत ब्वाइज डबल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा सर्किट– १ का विजेता अकी र आरभको जोडीले चीनका वेन्बो बाइ र फान्मिङ मेङको जोडीलाई ३–६, ६–३ र १०–५ ले पराजित गरे ।
फाइनलमा अकी र आरभको भेट भारतका सेहजसिंह पवार र देबशिष साहुको जोडीसंग हुनेछ । भारतीय जोडीले भारतकै प्रणव कोराडे र स्मिट निलेशभाइ पटेलको जोडीलाई ६–७, ६–३ र १०–४ ले हराएका थिए ।
नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको गर्ल्स डबल्सको फाइनलमा सर्किट– १ का विजेता दिदीबहिनी मार्ता र मराल्गु चोक्सोम्जाभको जोडीले बेल्जियमकी क्यामिली फिसेट र रुसकी मिलिना शुब्खानकुलोभाको जोडी विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।
ब्वाइज सिंगल्समा चीनका वेन्बो तथा भारतका सेहज, प्रत्यश र देबशिष सेमिफाइनलमा पुगे । गर्ल्स डबल्समा बेल्जियमकी क्यामिली, मंगोलियाका मार्ता र मराल्गु तथा चीनकी झाङ क्विन वेइले सेमिफाइनलमा स्थान पक्का गरे ।