काठमाडौं । क्रिकेट विवाद समाधानका लागि अन्तराष्ट्रिय क्रिकेट परिषद्ले गठन गरेको स्वतन्त्र कमिटिको बैठक आज बस्दैछ । सल्लाहाकार कमिटिले बनाएको विधानमा केन्द्रित रहेर नेपाल क्रिकेट संघ क्यानको नयाँ निर्वाचन गराउने बिषयमा स्वतन्त्र कमिटिको बैठक केन्द्रित हुनेछ ।
काठमाडौंको होटल सोल्टीमा बस्ने बैठक दिउँसो १ बजे सुरु हुनेछ । स्वतन्त्र कमिटिमा रहेका आईसीसीका प्रतिनिधि काठमाडौं आईपुगेका छन् । आईसीसी उपाध्यक्ष इमरान ख्वाजा आजमात्र काठमाडौं आईपुग्नेछन् ।
काठमाडौंमा बस्न लागेको स्वतन्त्र कमिटिको यो दोस्रो बैठक हो । यसअघि बसेको बैठकले जिल्ला निर्वाचनको बिषयमा अध्ययन गर्ने र अदालतको मुद्वा फिर्ता लिने बिषयमा निलम्बित क्यानलाई आग्रह गर्ने निर्णय गरेको थियो ।
तर निलम्बित क्यानले अदालतको मुद्वा फिर्ता लिने बिषयमा संघको बोर्ड बैठकबाट औपचारिक निर्णय गरेपनि प्रक्रिया अघि बढाएको छैन । उसले नयाँ निर्वाचनको रोडम्याप बनेपछि मात्र मुद्वा फिर्ता प्रक्रिया अघि बढ्ने अडान राखेको छ । उनले क्यानको यसअघि भएको जिल्ला निर्वाचनको सम्बन्धमा समेत स्पष्ट हुन चाहेको छ ।
काठमाडौमा दुई दिन सम्म चल्ने स्वतन्त्र कमिटिको बैठकमा अदालतको मुद्वा फिर्ताको सम्बन्धमा छलफल हुने राखेपकातर्फबाट कमिटि सदस्य रहेका एलबी क्षेत्रीले जानकारी दिए ।
‘विधानको व्यवस्था अनुसार जिल्ला निर्वाचनलाई दिन सकिने मान्यता र अदालतको मुद्वाको बिषयमा बिशेष छलफल हुनेछ ।’ उनले खेलपाटीसंग भने ।
क्रिकेट विवाद समाधानमा सरोकारवाला निकाय गम्भिर नबन्दा नेपाली क्रिकेटको विवाद लम्बिएको छ । सरकारी हस्तक्षप र अपारदर्शी निर्वाचनको कारण देखाउँदै आईसीसीले नेपाली क्रिकेटलाई निलम्बनमा राखेको छ ।