काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विदेशी खेलाडीको कोटा थप गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र 'ए' लिगका १४ क्लबबीचको बैठकले विदेशी खेलाडीको कोटा थप गर्न सहमति बनेको छ ।
अब क्लबले ५ जना विदेशी खेलाडी टिममा समावेश गर्न पाउने छन् । जसमा एक जना एसियाली र एक जना दक्षिण एसियाका खेलाडी अनिवार्य गरिएको छ ।
'एन्फा र क्लबबीच विदेशी खेलाडी ५ जना दर्ता गर्न पाउने सहमति भएको छ', एन्फाका प्रवक्ता सुरेश शाहले खेलपाटीसँग भने, 'एक जना एसियन र एक साउथ एसियन खेलाडी अनिवार्य राख्नु पर्छ ।'
यस अघि हरेक क्लबले ४ जना विदेशी खेलाडी राख्न पाउने नियम रहेको थियो । तर, पछिल्लो समय खेलाडी अभाव देखिएपछि क्लबहरुले नै विदेशी खेलाडीको कोटा थप्न आग्रह गर्दै आएको थियो ।
करिब तीन दर्जन बढी खेलाडी अष्ट्रेलिया लगायत अन्य देश पलायन भएपछि स्तरीय खेलाडीको अभाव देखिएको छ । जसको कारण क्लबले विदेशी खेलाडीको कोटा बढाउन माग गरेको थियो ।
विदेशी खेलाडीको कोटा थप भएसँगै सुरुआती-११ मा ४ जना विदेशी खेलाडी राख्न पाइनेछ । एक जना विदेशी खेलाडी भने बेन्चमा राख्नु पर्नेछ ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।