काठमाडौं । नेपालकी रायना शाहले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौं, नेपाल सर्किट– २ अन्तर्गत गल्र्स सिंगल्समा सोमबार विजयी सुरुआत गरेकी छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा रायनाले भारतकी प्राची सथिशलाई ६–१ र ६–० को सोझो सेटमा सहजै पराजित गरिन् । पहिलो दिन गर्ल्स सिंगल्समा रायनासहित ३ खेलाडीले प्रतिस्पर्धा गरेकोमा रायनाले मात्र जित हात पारेकी हुन् ।
भारतकी काइरा सिद्धार्थ चेतनानीले नेपालकी प्रशंसा मोक्तानलाई ६–४ र ६–० तथा भारतकी अर्जन खोराकीवालाले नेपालकी आइशा डोल्कर गुरुङलाई ६–२ र ६–१ को सोझो सेटमा हराए । अन्य खेलमा थाइल्यान्डकी कानछ्या चुङवातना, मंगोलियाकी मराल्गु चोग्सोम्जाभ, बेल्जियमकी क्यामिली फिसेट, भारतकी तमन्ना टकोरिया, रुसकी मिलिना शुब्खान्कुलोभा तथा भारतका सौम्य रोन्डे, दुर्गान्सी कुमार, साइ जान्भी र स्निगधा कान्ताले जित हात पारे ।
नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज सिंगल्समा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबै पराजित भए ।
भियतनामका फाम ला होङले नेपालका आर्यन गिरीलाई ६–१ र ६–२, भारतका सेहजसिंह पवारले नेपालका अकी जुवेन रावतलाई ६–१ र ६–०, भारतका स्मिट निलेशभाइ पटेलले नेपालका निहालजंगबहादुर थापालाई ६–४ र ६–१, ताइपेईंका काइ इन याङले नेपालका देव आशिष रेउलेलाई ६–० र ६–०, अमेरिकाका आरभसम्राट हाडाले नेपालका सक्षमविक्रम शाहलाई ६–१ र ६–३ तथा भारतका निकिल डिसुजाले नेपालका श्रीयोग अधिकारीलाई ६–१ र ६–० को सोझो सेटमा पाखा लगाए ।
बाँकी प्रतिस्पर्धामा चीनका वेन्बो बाइ, भारतका नभ्य वर्मा, बेलारुसका आर्टसियोम सिकुनेन्का, भारतका प्रत्याक्ष, दक्षिण कोरियाका जियोम डो र भारतका देबाशिष साहुले आ–आफ्नो खेल जिते ।