सल्यान । म्याराथन धाविका पुष्पा भण्डारी गृह जिल्ला सल्यानमा सम्मानित भएकी छिन् ।
बंगलादेशको ढाकामा माघ ६ गते आयोजना भएको बंगबन्धु शेष मुजिम ढाका म्याराथनमामा स्वर्ण पदक जितेर सल्यान आएकी पुष्पालाई खेलकुद विकास समिति सल्यानले सम्मान गरेको हो ।
सल्यानको ग्रामिण भेगमा जन्मिएकी पुष्पाले खेल क्षेत्रमा सल्यान जिल्ला र नेपालको नाम विश्वसामु चिनाएकाले उनलाई सम्मान गरिएको जिल्ला खेलकुद विकास समितीका अध्यक्ष खड्ग आचार्यले बताए ।
सम्मान समारोहमा बोल्दै पुष्पाले देशकालागि खेलेर नेपालको नाम विश्वसामु चिनाउन पाएकाले सल्यानी हुनुमा गर्व गर्ने बताइन । पुस्पा एपीएफ क्लबमा आवद्व छिन् ।
पुष्पाले ढाका म्याराथनमा ४२.१९५ किलोमिटर निर्धारित दुरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गर्दै आफ्नै नामको राष्ट्रिय किर्तीमान तोड्दै नयाँ किर्तीमान राख्न सफल भएकी थिइन ।
यसअघि १३ औं दक्षिण एशियाली साग गेममा कान्छीमाया कोजुको नाममा रहेको राष्ट्रिय किर्तीमान पुष्पाले तोडिसकेकी थिइन् ।