काठमाडौं । गणेशमान स्मृति राष्ट्रिय खुल्ला किक बक्सिङ प्रतियोगिता पुसको पहिलो साता आयोजना हुने भएको छ ।
आयोजक ललितपुर किक बक्सिङ संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस ५ गतेबाट ७ गतेसम्म आयोजना हुने जानकारी गराएको छ ।
गोदावरी नगरपालिकास्थित प्याङगाँउ चौरमा संचालन हुने तीन दिने प्रतियोगितामा कुल १५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ५ स्पर्धा समावेश गरिएको संघका अध्यक्ष विनोद महर्जनले जानकारी गराए ।
विभागीय टोलीहरु नेपाल पुलिस, एपीएफ र आर्मीका खेलाडीहरुले समत प्रतिस्पर्धा गर्ने प्रतियोगितामा कराते, उसु, बक्सिङ, तेक्वान्दो, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराते र मुवा थाई खेलका खेलाडीले खेल्नेछन् ।
पुरुषतर्फ ५० केजी, ५५ केजी. ६० केजी मुनि, ६५ केजी मुनि, ७० केजी माथि र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ५० केजी, ५५ केजी मुनि, ६० केजी माथि र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५–५ हजार रुपैयाँ पाउने छन् । यस्तै उत्कृष्ट पुरुष र महिला खेलाडीले १५/१५ हजार पाउने छन् ।
त्यस्तै टिम च्याम्पियन बन्ने टोलीले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १२ हजार ५ सय रुपैयाँ पाउने छन् ।