काठमाडौं । राउण्ड टेबल नेपालको आयोजनामा 'रन फर ओबेसिटी ५ के दौड' प्रतियोगिता आयोजना हुने भएको छ ।
एनआरएस स्पोर्टस फाउन्डेसनको व्यवस्थापनमा आयोजना हुने प्रतियोगिता आगामी फागुन २० गते शनिबार हुनेछ ।
स्वस्थ जीवनयापनको महत्व र मोटोपनाविरुद्ध जनचेतना जगाउने उद्देश्यले वर्ल्ड ओबेसिटी डेको दिन प्रतियोगिता आयोजना गर्न लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनबाट आयोजकले जानकारी दिएको छ।
बसन्तपुर दरबार स्क्वायरमा आयोजना हुने दौडमा १ हजार बढीको सहभागिता रहने आयोजकले जनाएको छ ।
वसन्तपुरबाट सुरु हुने दौड रत्नपार्क,नागपोखरी,टुढिखेल हुदै वसन्तपुरमा गएर सम्पन्न हुनेछ ।
प्रतियोगितामा सहभागिता जनाउन खल्ती एपबाट नाम डर्ट गर्नु पर्नेछ । शनिबारबाट दर्ता खुल्ला हुने आयोजकले जनाएको छ ।
रन फर ओबेसिटी भन्ने नारासहित आयोजना हुने दौडको मुख्य प्रायोजकमा द प्लम्बर पाइप्स रहेको छ । किङ कोहली माट्रेसले गोल्ड स्पोन्सरको रुपमा सहयोग गर्नेछ ।
पत्रकार सम्मेलनमा राउण्ड टेबल नेपालका उपाध्यक्ष नितेश अग्रवाल, काठमाडौं एलिट्स राउण्ड टेबलका चेयरम्यान आशिष गोयल, काठमाडौं एलिट्स राउण्ड टेबल आयोजकका धिरज गोल्छा, एनआरएस स्पोर्टस फाउन्डेसनका बागमती राई, एथलेटिक्सकी च्याम्पियन सन्तोषी श्रेष्ठ, ट्रायथोलनकी च्याम्पियन सोनी गुरुङ, ओलम्पियन रघु ओन्त लगायतको उपस्थिति रहेको थियो ।
राउण्ड टेबल नेपाल १८ देखि ४० वर्ष उमेर समूहका गैर-राजनीतिक र गैर-साम्प्रदायिक युवाहरूको संगठन हो । युवाहरूको उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलामा सेवा, सद्भाव र सद्भावनालाई प्रवर्द्धन गर्नु संगठनको उदेश्य रहेको छ ।
यस्तै राउण्ड टेबल नेपालको मिशन भनेको नेपालमा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा काम गर्नु हो जसले गर्दा पिछडिएका समुदायका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको बताईएको छ ।