काठमाडौं । आसन्न सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिताको ५० प्रतिशत तयारी पूरा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै लिगको ५० प्रतिशत तयारी पूरा भएको जनाएको छ ।
एन्फाका महासचिव किरण राईले लिगको एक महिने काउन्ट डाउन सुरु भएको जानकारी दिदै ५० प्रतिशत तयारी सकिएको बताए ।
'लिगको काउन्ट डाउन सुरु भएको छ । तयारी द्रुत गतिमा गईरहेको छ । ५० प्रतिशत तयारी सकिएको छ,' महसचिव राईले भने, 'प्रमोसन र प्राविधिक काम बाँकी रहेको छ ।'
तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिग दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ ।
एन्फाका लिग निर्देशक सन्जिब मिश्रले पहिलो चरणको खेल तालिका सार्वजनिक भईसकेको जनाए । उनले लिग अघि इन्ट्रीग्रिटि वर्कसप हुने बताए ।
'फिफा डेको कारण पहिलो चरणको मात्र तालिका निकालेका हौँ । लिगलाई राम्रो बनाउन लिग अघि इन्ट्रीग्रिटि वर्कसप हुन्छ,' मिश्रले भने ।
लिगका लागि १४ वटै क्लबले नाम दर्ता गराईसकेको एन्फाले जनाएको छ । यस्तै सबै क्लबले तयारी खर्चको पहिलो किस्ता १५ लाख लिएको एन्फाले जनाएको छ ।
एन्फाले लिगको तयारीका लागि 'ए' डिभिजनका प्रत्येक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छ ।
यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।
फेयर प्ले अवार्डको नगद पुरस्कार वृद्धि गर्दै ३ लाख पुर्राईएको छ ।
मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।
प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।