काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजराहमा आयोजना हुने १०औं फुजराह ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २० सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
यही फेब्रुअरी ५ देखि ८ तारिखसम्म आयोजना हुने प्रतियोगिता सानु महर्जन, सुजन श्रेष्ठ, शिभांगी श्रेष्ठ, सोनम गैरे, सुलभ भण्डारी, राजन भण्डारी, अनुस्का भण्डारी, अस्मिता सुब्बा, प्रनिश गुरुङ, सन्देश गिरी, दीपेश खत्री, सोनिया गैरे, सुष्मा थापा, सुजन सिलवाल र खुसी गौतमले चुनौती प्रस्तुत गर्ने छन् ।
प्रशिक्षकमा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यसमेत रहेका बब्लु सिवाकोटी र टिम व्यवस्थापकमा प्रल्हाद थापा र बाबुलाल सुब्बा छन् ।
टोलीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा र केन्द्रीय सदस्य तथा प्रवक्ता साम्राज्यविक्रम पाण्डेले बिदाइ गरे । राणाले खेलाडीलाई सफलताको शुभकामना दिँदै राष्ट्रको गरिमा उँचो बनाउन आग्रह गरे ।
‘देशको नाम संसारमा चिनाउने काम खेलाडीले गर्दै आएका छन् । यस प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रको नाम उँचो बनाउन सबै खेलाडीलाई आग्रह गर्दछु’, अध्यक्ष राणाले भने ।
बिदाइ कार्यक्रममा संघका प्रवक्ता पाण्डेले पनि सफलताको शुभकामना दिएका थिए ।