काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले १० औं पटक अष्ट्रेलियन ओपनको उपाधि जित्नु आफ्नो लागि जीवनकै सबैभन्दा ठूलो जित भएको बताएका छन् ।
मेलबर्नमा आइतबार भएको फाइनलमा ग्रीसका स्टेफानोस सित्सिपासलाई हराउँदै जोकोभिचले कीर्तिमानी १० औं पटक अष्ट्रेलियन ओपन जितेका थिए ।
'विगत चार वा पाँच हप्तामा हामीले के भोग्यौं भन्ने टोली र परिवारलाई मात्र थाहा छ,' सर्बियन जोकोभिचले भने, 'म भन्न चाहन्छु कि यो मेरो जीवनको सबैभन्दा ठूलो जित हो ।'
३५ वर्षीय जोकोभिचले गत वर्ष भने खेल्न पाएका थिएनन् । कोभिड-१९ को खोप नलगाएको कारण उनलाई फर्काईएको थियो ।
यस वर्ष भने अष्ट्रेलिया सरकारले खोप विना प्रवेश निषेधलाई फुकुवा गरेको थियो । फुकुवा भएपछि उनले दशौँ पटक उपाधि जित्दै कीर्तिमान बनाएका हुन् ।
जोकोभिचको यो २२ औं ग्रान्डस्लाम उपाधि समेत हो ।
जोकोभिचले सर्वाधिक धेरै २२ औं पटक ग्रान्डस्लाम जित्ने राफायल नाडालको कीर्तिमानमा समेत बराबरी गरेका छन् ।
यस उपाधिसँगै जोकोभिच विश्व नम्बर एक खेलाडी समेत बनेका छन् ।